कमरेड हाम्रा दिन कहिले आउँछन ?
बाबुराम अधिकारी, कोहलपुर
मे १ ,२०२०

विश्वका मजदुरहरु एक हौँ भन्दै मुठी कसेर
अन्तर्राष्ट्रिय गित गाउन थालेको वर्षौ भयो
पार्टिको मञ्च अगाडि आफ्नै चप्पल माथि पलेटी कसेर
श्रमिक वर्गको मुक्तिका भाषण सुन्न लागेको दशकौँ भयो ।
कमरेड तपाइहरुले, पञ्चायतलाइ सामन्ति भन्नु भयो
हामी पञ्चायत मुर्दाबाद भन्यौँ, मुठि कसेर
पञ्चायत विरुद्धको आन्दोलनमा खाली खुट्टा अग्रमोर्चामा हिड्यौ
भगवानका वाणी जस्तै भाषण सुन्यौ घण्टौ धुलो माटोमा बसेर ।
कमरेड व्यवस्था नै हाम्रो शत्रु भयो भनि लाग्यौ जनयुद्धमा डटेर
राजनितिक परिवर्तन भयो, व्यवस्था ढल्यो,
प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र सबै तन्त्र आए नेपालमा
उत्साह बढ्यो अब त श्रमिकका दिन पनि आउँछन कि भनेर ।
सरकारमा नगइ केहि गर्न सकिदैन भनेर
हाल्यौ भोट कहिले सुर्य अनि कहिले हसिँया हथौडामा
जे जे भन्यो त्यही गर्यौ, जहाँ भन्यो त्यहीँ गयौँ
नेपालमा कम्युनिष्टको सरकार ल्याउन भनेर ।
हरिया तरकारी उत्पादन गर्ने हामी मजदुर नुन र खुर्सानी सँग
खान्छौँ भात पौष्टिक आहार मानेर ।
आफ्नै श्रमले आलिसान महल बनाउने हामी मजदुर
बस्छौ झोपडीमा वर्षा र हुरीबाट बच्न रातभर जागेर ।
हाम्रा शिल्पले सुन्दर कपडा तयार हुँदा
बाल बच्चा नाङ्गै हिड्छन आफ्नो नियती सम्झेर
हिँजो परिवर्तनका लागी सहयोग माग्ने कमरेडहरु
सेतो नम्बर प्लेटको गाडिमा हिड्छन साइकलको मजदुरलाइ हिलो छ्यापेर ।
कमरेड आज मजदुर दिवस, के शुभकामना दिनुहु्न्छ खै ?
तपाइँहरुलाइ फुर्सद कहाँ होला केहि समय खर्चिन मजदुर सम्झेर
मजदुरका दिन आउनलाइ अब कुन व्यवस्था आउनु पर्ने हो ?
हामीले भोट कहाँ हाल्नु पर्ने हो भन्नुहोला एउटा शुभचिन्तक ठानेर ।




