स्वास्थ्य सामाग्री खरिद प्रकरणमा नाम जाेडेकाे भन्दै भाटभटेनीको आपत्ति

काठमाडौं– विवादमा तानिएको ओम्नी समूहले चीनबाट ल्याएको कोभिड–१९ सम्बद्ध स्वास्थ्य उपकरण र सामग्रीका विषयमा आफ्नो नाम जोडेर केही सञ्चार माध्यमहरुले प्रचार गरेको भन्दै भाटभटेनी समूहले आपत्ति जनाएको छ ।
ओम्नी समूहको कार्यालय पुल्चोकस्थित भाटभटेनीको माथिल्लो तल्लामा छ । ‘उक्त संस्थाले सो स्थान प्रयोग गरेबापत भाटभटेनीलाई भाडा बुझाउँछ । भाडामा बसेको उक्त संस्थामा भाटभटेनी सुपर मार्केट्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरुङको नाम समेत अनुचित र गलत तरिकाले जोडेर हाम्रो मानमर्दन गर्न केही सञ्चार संस्था लागेकोमा हामी खेद प्रकट गर्दछौं,’ भाटभटेनीको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो परिसरमा भाडामा बसेको संस्थाले गरेको कुनै पनि प्रकारको कामको भागिदार हामीलाई बनाउन खोज्नु पित पत्रकारिताको कुरुप नमुना मात्र हो ।’
सम्पूर्ण व्यावसायिक र सत्य, तथ्य समाचार सम्प्रेषण गर्ने समाचार संस्थालाई भाटभटेनीको विषयमा कुनै प्रकारको भ्रममा नपर्न पनि विज्ञप्तिमा आग्रह गरिएको छ ।
कोभिड–१९ सँग जुध्न जुध्न भाटभटेनी समूहले आफ्नो क्षमताले भ्याएसम्म सहयोग गरिरहेको भन्दै उक्त समूहले कोरोना संक्रमणसँग लड्न सरकारी कोषमा एक करोड र सातवटै प्रदेशलाई २५–२५ लाख सहयोग गर्ने घोषणा गरेको पनि विज्ञप्तिमा उल्लेख छ । त्यस्तै अप्ठेरो अवस्थामा सर्वसाधारणलाई आवश्यक पर्ने खाद्यान्न र सागसब्जी भाटभटेनीले घर–घरमै पु¥याउने व्यवस्था गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
साभार:- अार्थीक पेज




