काेहलपुरमा फुटवल प्रशिक्षण केन्द्र !
काेहलपुुुर, ७ फाल्गुन २०७६

कोहलपुरमा फुटबल प्रशिक्षण केन्द्र निर्माण हुने भएको छ । कोहलपुर नगरपालिका वडा नं. २ मा रहेको १३ बिघा जग्गा अन्तर्गतको ५ बिघा १० कठ्ठा जग्गामा एन्फा प्रशिक्षण तथा फुटबल सम्बन्धी भौतिक संरचना निर्माण हुने भएको छ ।
कोहलपुर नगरपालिकाले अखिल नेपाल फुटबल संघलाई २५ वर्षका लागि उक्त जग्गा भाडामा दिएर प्रशिक्षण केन्द्र स्थापना गर्न लागिएको छ । मध्य तथा सुदुरपश्चिम क्षेत्रमा फुटबल खेलका खेलाडिहरु उत्पादन गर्ने लक्ष्यका साथ कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावत र अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पा बिच उक्त जग्गा २५ वर्षका लागि भाडामा दिने र लिने सम्झौता बुधबार सम्पन्न भएको छ । जग्गा भाडामा लिएसँगै अखिल नेपाल फुटबल संघले सन २०२०को डिसेम्बर सम्म आवश्यक भौतिक संरक्षण निर्माण गर्ने प्रतिवद्वता जनाएको छ । अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले कोहलपुरमा आधुनिक र व्यवस्थित फुटबल प्रशिक्षण केन्द्र बनाउने प्रतिवद्वता जनाएका छन् । साथै उनले ६ वर्षदेखि १२ वर्षका बालबालिकाहरुलाई प्रत्येक हप्ताको शनिबार प्रशिक्षण दिईने, खेलाडिहरुलाई आवास सहितका भवन निर्माण गरिने र एकै पटक करिब चार सय बालबालिकाहरुले फुटबलको प्रशिक्षण लिनेसक्ने गरी भौतिक संरक्षणहरु निर्माण गरिने जानकारी दिएका छन् । कोहलपुरमा फुटबल प्रशिक्षण स्थापना भएसँगै पश्चिम नेपालको फुटबल क्षेत्रमा नयाँ आयाम थपिने भन्दै प्रशिक्षण केन्द्रले नेपाली फुटबलमा नयाँ ईट्टा थप्ने विश्वास उनले व्यक्त गरेका छन् ।

कोहलपुर नगरपालिकाका नगरप्रमुख लुट बहादुर रावतले कोहलपुरलाई खेलकुदको हब बनाउका लागि फुटबल केन्द्र स्थापना गर्न लागिएको जानकारी दिएका छन् । फुटबल प्रशिक्षण केन्द्रको स्थापना भएसँगै यस क्षेत्रका खेलाडिहरुले विश्वमा भईरहने फुटबल खेलहरुमा सहभागिता जनाउने विश्वास लिएको भन्दै नगरप्रमुख रावतले भने ‘प्रशिक्षण केन्द्रले यहाँका बालबालिकाहरु अन्तर्राष्ट्रिय खेलाडिका रुपमा चिनाउने छ र खेलकुदजगतको ईतिहासमा कोहलपुरको नाम चिनाउन खेलाडिहरु सफल हुने विश्वास लिएका छु ।’ साथै उनले संघलाई जग्गा विक्रि नगरेको र खेलाडि उत्पादनका लागि प्रशिक्षण केन्द्र स्थापना गर्न २५ वर्षका लागि भाडामा दिईएको बताएका छन् । नगरप्रमुख रावतका अनुसार अब बन्ने फुटबल प्रशिक्षण केन्द्रमा विभिन्न समयमा हुने फुटबलका प्रतियोगितालाई बाधा नपुर्याउने भन्दै पश्चिम नेपालमा फुटबलको केन्द्रका रुपमा कोहलपुरलाई विकास गराईने प्रतिवद्वता गरिएको छ ।




