काेहलपुरमा एमालेकाे घरदैलो, मतदाता उत्साहित

काेहलपुर, नेकपा एमालेकाे कोहलपुरमा भएकाे घरदैलो अभियानका क्रममा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सूर्य ढकालप्रति मतदाताको उत्साह देखिएको छ। टोल–टोलमा पुगेर गरिएको प्रत्यक्ष संवादले स्थानीयस्तरमा चुनावी चासो र सरगर्मी बढाएको छ।
घरदैलो अभियान अन्तर्गत ढकालले स्थानीयवासीसँग भेटघाट गर्दै उनीहरूका समस्या, गुनासा र अपेक्षा सुनेका छन्। भेटघाटका क्रममा स्थानीयले देशको वर्तमान अवस्था, विकासका अधुरा काम र जनजीवनसँग जोडिएका विषयमा चासो व्यक्त गरेका छन्। केही मतदाताले अघिल्लो निर्वाचनमा ढकाललाई दिएको समर्थन सम्झाउँदै यसपटक पनि संवाद र कार्यशैलीप्रति विश्वास व्यक्त गरेका छन्।
ढकालले खड्कवार र घुईयाबारी सडक विस्तारमा आफूले गरेको पहलको चर्चा गर्दै आगामी दिनमा सडक, खानेपानी, ढल व्यवस्थापन, शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता आधारभूत विषयलाई प्राथमिकतामा राखेर काम गर्ने योजना प्रस्तुत गरेका छन्। प्रत्यक्ष संवादका क्रममा उनले राजनीति जनताको जीवन सहज बनाउने माध्यम हुनुपर्ने बताए।
युवा, मजदुर, साना व्यापारीदेखि ज्येष्ठ नागरिकसम्मसँग भेटघाट गर्दै ढकालले सबै वर्गको आवाज संसद्मा पुर्‍याउने लक्ष्य रहेको उल्लेख गरे। स्थानीयवासीका अनुसार उनको सरल व्यवहार, धैर्यतापूर्वक सुन्ने शैली र कार्यप्रतिको प्रतिबद्धताले मतदातामा सकारात्मक सन्देश दिएको छ।
बाँके–१ मा चुनावी प्रतिस्पर्धा बढ्दै गए पनि घरदैलो अभियानमार्फत भइरहेको प्रत्यक्ष संवाद र सक्रियताले मतदाताको ध्यान तानेको देखिन्छ।


ताजा समाचार