एमालेमा जनसङ्गठनका पदाधिकारी र केन्द्रीय कमिटीको संख्या घटाउने निर्णय

 

काठमाडौं, फागुन १८ । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठकले पार्टीका जनसङ्गठनहरूका केन्द्रीय कमिटीको आकार र पदाधिकारीको सङ्ख्या घटाउने निर्णय गरेको छ ।
एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतवार बसेको केन्द्रीय सचिवालयको ४५औं बैठकले सो निर्णय गरेको हो । बैठकले दुईवटा केन्द्रीय विभाग सचिव पदपूर्ति गरेको छ भने सुदूरपश्चिम प्रदेश कमिटीमा सदस्यहरू मनोनयन गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सचिवालयको ४४औं बैठकयता विकसित समसामयिक राजनीतिक विषय तथा सरकारका कामका बारेमा जानकारी गराउनुभएको थियो । बैठकले जनसंगठनको पदाधिकारीको आकार ९ र केन्द्रीय समितिको संख्या १५१ र ९९ जना रहने निर्णय गरेको छ ।

१.जनसङ्गठन समन्वय सम्बन्धी निर्देशिकामा संशोधनका सम्बन्धमा–जनसङ्गठन समन्वय संयन्त्रले प्रस्ताव गरे बमोजिम जनसङ्गठनको केन्द्रीय कमिटीको अधिकतम सङ्ख्या क्रमशः १५० र ९९ मा सीमित गर्ने, जनसङ्गठनको हालको अधिकतम् १७ पदाधिकारीहरूको सङ्ख्या घटाई ९ मा सीमित गर्ने । अध्यक्ष र महासचिवका अतिरिक्त उपाध्यक्ष महिलासहित २, उपमहासचिव १ र सङ्गठन–प्रचार–विदेश र कोषको जिम्मेवारी तोकेरै सचिव (कोषाध्यक्ष भएमा सोसहित)को सङ्ख्या ४ मा सीमित गर्ने ।

 संयन्त्रमा संरचनागत रूपमा सचिव राख्न उपयुक्त नहुने तर प्रमुखले आवश्यकताका आधारमा सचिवको जिम्मेवारी तोक्न सक्ने ।

 केन्द्रमा सचिवालय र केन्द्रीय कमिटीका बीचमा अन्य कुनै तह नराख्ने ।

२.स्थानीय तहका प्रमुख/अध्यक्ष तथा उपप्रमुख/उपाध्यक्षहरूको कार्यशाला आगामी चैतमहिनाभित्र सम्पन्न गर्ने ।

३.विभागमा सचिवहरूको पदपूर्ति सम्बन्धमा–केन्द्रीय प्रचार तथा प्रकाशन विभागको सचिवमा गणेश पाण्डे (लमजुङ) र स्थानीय विकास विभाग सचिवमा नवराज गेलाल (भक्तपुर)लाई मनोनयन गरिएको छ ।

४. पार्टीको स्थापना दिवस–अप्रिल २२ (बैशाख ९, २०८२) पार्टीको ७६औं स्थापना दिवस भव्य रूपमा मनाउने ।

५. मनोनयन– सुदूरपश्चिम प्रदेश कमिटी सदस्यमा मनोनयनका लागि आएका नामहरू अनुमोदन गरिएको छ । सो अनुसार, जयन्त स्वार (अछाम) रामबहादुर बुढा (अछाम), नन्दसिंह कठायत (अछाम) र अमर विक (अछाम) प्रदेश कमिटी सदस्य मनोनयन हुनुभएको छ ।

सम्बन्धित समाचार