पढाउने विषयकाे परिक्षा लिने भनेकाे हाे,हटाउने भनेकाे हैन- सांसद ढकाल

सांसद ढकालले गरे आत्मआलोचना

काेहलपुर
बाँके क्षेत्र न १ का संघिय सांसद सूर्य ढकालले आफ्नाे विषयमा कम विद्यार्थी पास गराउने शिक्षककाे पाँच वर्षमा परिक्षा लिनुपर्ने भनेता पनि शिक्षक हटाउने नभनेकाे बताएका छन।

सांसद सूर्य प्रसाद ढकाल

शुक्रबार प्रेस चाैतारी काेहलपुरले आयाेजना गरेकाे पत्रकार भेटघाट कार्यक्रममा बाेल्दै सांसद ढकालले भने,” लगातार पाँच वर्षसम्म ३३ प्रतिशत भन्दा कम विद्यार्थी पास गराउने शिक्षकलाई पढाउने विषयकाे परिक्षा लिनुपर्छ भनेकाे हाे।”
शिक्षकले पढाउने विषयमा परिक्षा लिएमा शिक्षक बाध्यकारी हुने र रिजल्ट राम्रो आउने सांसद ढकालकाे भनाई छ। तर परिक्षामा फेल भएका शिक्षकलाई के गर्ने भन्ने विषयमा सांसद ढकालले कुनै प्रतिक्रिया दिएनन।
सांसद ढकालले आफुले धेरै शिक्षककाे पक्षमा वकालत गरेकाे दावी गरे। उनले भने,” शिक्षककाे तलब निजामतीकाे भन्दा एक रुपैया भएपनि बढि हुनुपर्छ भनेर कुरा राखेकाे छु।” शिक्षकले अरु कुनै सेवा सुविधा पाउदैन ,त्यसकारण शिक्षकाे मनाेवल उच्च राख्न समेत निजामती भन्दा शिक्षककाे तलव भत्ता वढि हुनुपर्ने ढकालकाे जाेड छ। सरकारले विभिन्न प्रकृतिका शिक्षक राखेकाे छ र उनिहरुकाे तलव फरकफरक भएकाे भन्दै सबै शिक्षककाे तलवमान समान बनाउनु पर्ने उनकाे भनाइ छ। अव शिक्षक सेवाबाट मात्रै शिक्षककाे नियुक्ति गर्ने व्यवस्था गर्नुपर्ने पत्रकार सम्मेलनमा सांसद ढकालले बताए। विद्यालय भवन निर्माणमा समेत विद्यालयलाई अधिकार दिनुपर्नेमा उनकाे जाेड छ। संघिय,प्रदेश सरकार,समन्वय र स्थानीय सरकारले छुट्टाछुट्टै मापदण्डअनुसार भवन निर्माण गर्ने स्विकृति दिदा विद्यालयकाे याेजना अनुसारका भवन वन्न नसकेकाे सांसद ढकालले बताए।
सांसद ढकालले गरे आत्मआलोचना
बाँके निर्वाचन क्षेत्र न १ बाट निर्वाचित सांसद सूर्य प्रसाद ढकालले शिक्षककाे विषयमा बाेलेका कुराप्रति आत्मालोचना गरेका छन ।
मिति २०८१ साउन ७ गते शिक्षा विधेयक माथिको सैद्धान्तिक छलफलका क्रममा सांसद ढकालले शिक्षकले आधा रातसम्म रक्सी पिउने,अनुमानका भरमा पढाउने,पाँच पाँच वर्षमा शिक्षककाे परिक्षा लिनुपर्ने लगाएतका विषय उठान गरेका थिय।
सांसद ढकालले विज्ञप्तिमा भनेका छन ,” शिक्षा समितिमा विषय उठान गर्दा मैले बोलेका केहि शब्दहरुले समग्र देश भरका शिक्षकहरुको आत्मसम्मानमा ठेस पुग्न गएको आशय प्राप्त हुन गएको महसुस भयो ।” उनले विज्ञप्तिमा आफ्ना भनाईले समस्त शिक्षक तथा गुरु वर्गको आत्मसम्मानमा ठेस पुग्न गएको भए आत्मआलोचित भएको उल्लेख गरेका छन। आफु सधै शिक्षा सुधार तथा शिक्षकको पेशागत हकहित, सेवा सुविधा तथा संरक्षणको पक्षमा वकालत गर्दै आएको र आगामी दिनमा समेत यी विषयमा सतिसाल बनेर उभिने प्रतिबद्धता व्यक्त विज्ञप्ति मार्फत गरेका छन ।
यस्ताे छ प्रेस विज्ञप्ति
उपरोक्त सम्बन्धमा म सधै शिक्षा सुधार तथा शिक्षकको पेशागत हकहित, सेवा सुविधा तथा संरक्षणको पक्षमा वकालत गर्दै आएको अवगत गराउदै आगामी दिनमा समेत यी विषयमा सतिसाल बनेर उभिने प्रतिबद्धता व्यक्त गर्दछु । मिति २०८१ साउन ७ गते शिक्षा विधेयक माथिको सैद्धान्तिक छलफलका क्रममा शिक्षा समितिमा विषय उठान गर्दा मैले बोलेका केहि शब्दहरुले समग्र देश भरका शिक्षकहरुको आत्मसम्मानमा ठेस पुग्न गएको आशय प्राप्त हुन गएको महसुस भयो । उक्त शिक्षा समितिमा अभिव्यक्त भनाईहरु समस्त शिक्षक वर्गलाई अपमानित गर्ने नियत नभई यस्ता समस्या विद्यालयमा सिर्जना भएको अवस्थालाई समेत नयाँ शिक्षा ऐनले संबोधन गर्नुपर्छ भन्ने आशय मात्रै भएको स्पष्ट पार्न चाहन्छु ।
मेरा भनाईले समस्त शिक्षक तथा गुरु वर्गको आत्मसम्मानमा ठेस पुग्न गएको भए आत्मआलोचित भएको व्यहोरा सम्पुर्णमा अनुरोध गर्दछु ।


ताजा समाचार