अनधिकृतरुपमा राखिएका प्रचार सामाग्री हटाउदै काेहलपुर नगर प्रहरी
काेहलपुर
कोहलपुर नगर प्रहरीले नगरपालिका क्षेत्रमा अनधिकृतरुपमा राखिएका प्रचार सामाग्री हटाउने अभियानलाई आक्रामक बनाएको छ । नगरपालिकासँग स्वीकृत विना बजार क्षेत्रलाई नै कुरुप बनाउने गरि राखिएका त्यस्ता प्रचार सामाग्री हटाउन नगर प्रहरी सक्रिय भएकाे छ ।
नगर प्रहरीले आफ्नो जिम्मेवारी सम्हालेपछि हालसम्म करिव पाँच सय फ्ल्यास बोर्ड र होर्डिङ बोर्ड हटाइसकेको नगर प्रहरी प्रमुख वीरबहादुर थापाले बताए । विज्ञापन प्रयोजनका लागि अनधिकृतरुपमा राखिएका त्यस्ता प्रचार सामाग्री हटाएर सम्बन्धित निकायलाई कारवाहीको दायरामा समेत ल्याउन थालिएको छ । अनधिकृतरुपमा आफ्नो प्रचार सामाग्री राखेको पाइएपछि सिभिल बैंकलाई कारवाहीको दायरामा ल्याइएको पनि प्रहरी प्रमुख थापाले बताए । ’नगरपालिकासँग स्वीकृत नलिएरै सिभिल बैंकले विद्युतका पोलमा ३२ वटा होर्डिङ बोर्ड राखेको रहिछ थापाले भने–‘१६ हजार जरिवाना गरेर नगर प्रहरीको नियन्त्रणमा रहेका होर्डिङ बोर्ड फिर्ता गरिदिएका छौं ।’ नगर प्रहरीको नियन्त्रणमा रहेका फ्ल्यास बोर्ड र होर्डिङ बोर्ड जरिवाना तिराएर सम्वन्धित निकायलाई बुझाउने गरिएको थापाको भनाइ छ । नगरपालिकाको स्वीकृति विना प्रचार सामाग्री राखिए विज्ञापन नियमन ऐन २०७६ अनुसार कारवाही गरिने पनि थापाले चेतावनी दिएका छन । कोहलपुर बजारदेखि पार्वतीपुर, रोहिणी खोला र मदनचोक क्षेत्रभित्रका अधिकांश प्रचार सामाग्री हटाइएको पनि थापाले बताए ।