मजदुरका लागि भाेकमरी पनि ठुलाे राेग

दीलिप सोनी

अहिले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीले विश्व समुदायलाई गम्भीर चुनौती दिइरहेको छ। उपचारको विश्वासनीय विकल्पको आविष्कार भइनसकेको वर्तमान परिस्थितिमा यस रोगको उपचारभन्दा पनि रोग लाग्नबाट जोगिन पूर्वसतर्कता अपनाउनु मुख्य कुरा मानिन्छ।

आजको मितिसम्म दुनियाँका कतिपय देशको तुलनामा हाम्रो देशमा यसको प्रकोप कम देखिएको छ। तैपनि नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको छ भन्ने विश्व स्वास्थ्य संगठनको ठहर छ। यसले हामी नेपालीहरुलाई दिएको सन्देश उच्च सतर्कता र तयारीमा रहौं भन्ने हो। सरकारले उच्च सतर्कता र तयारीमा रहने त भन्यो। तर कसरी रहने भन्ने पूर्वसूचना पनि पर्याप्त थिएन। त्यसलाई पनि सकारात्मक रुपमा लियौं। यस्तो समयमा हामी सबै प्रभावित छौं र स्वाभाविक पनि हो।

तर सबैभन्दा बढी प्रभावित दिनभरि काम गरेर बिहान साँझ हात मुख जोड्ने श्रमजीवी मजदुरहरु रहेका छन्। यिनीहरु बिहान ६ बजे मुखमा पानी छम्केर आँखा मिच्दै महानगर, उपमहानगर र नगर लगायत छोटो तथा लामो दुरीका सार्वजनिक यातायातमा काम गर्ने मजदुरहरु, दिनभरि इट्टा, ढुङ्गा, माटो उठाउने ज्यामी मजदुरहरु, उद्योग कलकारखाना, सडक निर्माण तथा अन्य सेवामूलक क्षेत्रमा काम गर्ने मजदुरहरुले दिनभरि काम गरेर साँझ घर जाँदा ४००/५०० लिएर आफ्नो परिवारको चुलो बालेर हात मुख जोड्ने मजदुरहरुको हालत के होला ?

यी त केही उदाहरण मात्र हुन्। एकचोटी गम्भीर भएर सोचौं त हामी सबैले। फेरि कम्युनिस्ट पार्टीको सरकार, त्यो पनि दुई तिहाईको सरकार छ। भोट माग्न जाँदा जसरी ‘संसारका मजदुर एक हौं, कम्युनिस्ट पार्टी भनेको सवर्हारा श्रमजीवीको हो, हामीले जित्यौं भने हाम्रो पहिलो ध्यान मजदुर वर्गमा हुनेछ’ भनिएको थियो। आज हाम्रै पार्टीका आदरणीय अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार छ। अहिले मजदुरको पीडा बुझ्न जरुरी छ।

म विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु, पहिला सुरुमा यस्ता मजदुरहरुको पहिचान गरी तुरुन्तै संघीय सरकारले राहत निर्णय गरी स्थानीय सरकारलाई निर्देशन गरोस्। र, स्थानीय सरकारले तत्काल राहत कोष खडा गरी यस्ता श्रमजीवी मजदुरहरुको बिहान बेलुका हातमुख जोड्ने वातावरण बनाओस्।

सरकारले भन्ने गरेको छ, भित्र बस्नोस्, बाहिर निस्के रोगले मरिन्छ। म भन्छु, ‘रोगले मात्रै होइन। भोकले पनि मरिन्छ।’ त्यसैले सरकारको छिटोभन्दा छिटो सरकारको ध्यान जाओस्। सरकारले गरीबको पेट भर्ने समस्याप्रति सम्वेदनशील हुन सकेन भने त्यही भोकमरि महामारीका रुपमा निम्तिन सक्छ। विश्वले यस्ता थुप्रै जोखिम ब्यहोरेको छ। नेपालले त्यसबाट शिक्षा लिन सक्नुपर्छ।

काठमाडौं र देशका प्रमूख शहरहरुमा काम गर्ने मजदूर र विद्यार्थीहरुको दैनिकी झन् कष्टकर हुन सक्छ। दैनिक वा मासिक रुपमा कमाएर जीवन धान्नेहरुले अहिलेको आर्थिक मन्दी र लकडाउनमा कसरी जीवन धान्ने ? सरकारले यसबारे गम्भीर रुपमा सोच्नुपर्छ। उपत्यका र देशका शहरका घरभेटीलाई सरकारले घरभाँडा मिनाहा गर्न औपचारिक रुपमै आव्हान गर्नुपर्छ। यसरी मात्र विपदमा नागरिकले जीवन धान्न र सरकारको आदेश मान्न सक्षम हुनेछन्।

सबै नेपालीले कोरोना भाइरसको संक्रमणबाट जोगिन आफूले नियमित रुपमा साबुनपानीले हात धोऔं। गुणस्तरीय सेनिटाइजरले हात सफा गरौं। मास्क प्रयोग अनिवार्य गरौं। यस्ता सामग्री उपलब्ध नभएका घरमै भएका सामग्रीहरुको रचनात्मक प्रयोग गरौं। भीडभाडमा नजाउँ, खोक्दा हाछ्युँ गर्दा कुहिनो या टिस्यु पेपरले मुख ढाकौं। अन्य ब्यक्तिसँग कम्तिमा तीन फिटको फरकमा बसौं। आफू पनि बाँचौं, अरुलाई पनि बचाऔं।

सम्बन्धित समाचार